एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
टस जितेको ओमानले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। फाइनल प्रवेशका लागि दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
नेपाल समूह ‘ए’ को विजेता तथा ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।
समूह चरणमा नेपालले चारमध्ये तीन खेल जितेको थियो। नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट, दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग १५ रनले पराजित भएको थियो।
ओमानविरुद्धको सेमिफाइनलमा नेपाल आत्मविश्वासका साथ मैदानमा उत्रिएको छ। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्ला पाँच भेटमा नेपालले तीन खेल जितेको छ भने ओमानले दुई खेलमा सफलता हात पारेको छ।
सेमिफाइनल जित्ने टोलीले प्रतियोगिताको फाइनलमा स्थान बनाउनेछ।
तपाईको प्रतिक्रिया