बुधबार ३१ भदौ २०८३
अर्थ

शेयर बजारमा उत्साह, नेप्से ४८ अंकले बढ्दा कारोबार ८ अर्ब नाघ्यो

मंगलबार भदौ ३०, २०८३/ Tuesday 09-15-26

काठमाडौं । शेयर बजारमा लगातार तेस्रो कारोबार दिन पनि उत्साह देखिएको छ। मंगलबार नेप्से परिसूचक ४८ दशमलव ५७ अंकले बढेर २ हजार ६३३ दशमलव ६२ विन्दुमा पुगेको छ। 

कारोबारमा आएका सबै समूहका उपसूचक बढेका छन्। लगानी र बीमा समूह साढे २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। बजारमा २६५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२ वटा कम्पनीको शेयर घटेको छ भने मोदी इनर्जीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। 

मंगलबार धौलागिरि लघुवित्तको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। यता एभरेस्ट बैंकको डिबेन्चरको मूल्य भने करिब साढे ५ प्रतिशतले घटेको छ। 

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। मंगलबार ३४७ कम्पनीका २ करोड ३ लाख कित्ता शेयर ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएका छन्। अघिल्लो दिन ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो। 

मंगलबारको कारोबार रकम पछिल्लो दुई महिनायताकै उच्च हो। यसअघि असार ३० गते ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। 

अर्थ मन्त्रालयले पूँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेपछि लगानीकर्तामा सकारात्मक मनोविज्ञान देखिएको हो। कार्ययोजनामा पूँजीबजारको संरचनागत सुधार, लगानीकर्ताको हित संरक्षण तथा बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटिएका छन्। 

 

तपाईको प्रतिक्रिया