कृष्णभीरको सडक अवरोध हट्यो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण अवरुद्ध नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। सडक विभागले आगामी असोज १ गते बिहीबार बिहानदेखि उक्त खण्डमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरेको छ।
बाढीबाट क्षतिग्रस्त सडकमा भदौ २८ गतेदेखि परीक्षणका रूपमा सवारीसाधन सञ्चालन हुँदै आएको छ। अहिले अत्यावश्यक सवारीसाधनलाई बिहान र बेलुकाको समयमा आवतजावत गर्न दिइएको छ भने रातिको समयमा सडक बन्द रहने व्यवस्था गरिएको छ।
सडक विभागका अनुसार भदौ १९ गतेदेखि रुख कटान र ट्रयाक निर्माणको काम सुरु गरिएको थियो। कृष्णभीर क्षेत्रमा पहाडतर्फ करिब २० मिटरभित्रसम्म र ३५ मिटर उचाइमा कटान गरेर नयाँ ट्रयाक तयार गरिएको हो। प्राविधिकसहित करिब ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म काम गरेर १० दिनमै ट्रयाक सञ्चालनयोग्य बनाएका हुन्।
हाल सडकमा ग्राभेल बिछ्याउने, नाली निर्माण गर्ने र सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ। भदौ ३१ गतेसम्म ग्राभेलको काम पूरा गरी असोज १ गतेदेखि नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गर्ने योजना रहेको सडक विभागका आयोजना संयोजक सुरेश पौडेलले बताएका छन्।
नयाँ ट्रयाक सञ्चालनपछि पहिरो, हिलो तथा लेदोका कारण पुनः यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक उपकरण तथा ग्राभेल सामग्री तयारी अवस्थामा राखिएको छ। पहाडबाट आउने पानी सडकमा पस्न नदिन सतही पानीको निकासको व्यवस्था गरिएको छ भने पहाडमा देखिएका चिराबाट पानी प्रवेश रोक्न सिल गर्ने र प्लास्टिकले छोप्ने तयारी गरिएको छ।
कृष्णभीरमा जोखिम कायमै रहेकाले वैकल्पिक मार्गका रूपमा बेनीघाटदेखि फिस्लिङसम्म करिब २० किलोमिटर सडकमा पनि ट्रयाक खोल्ने काम अघि बढाइएको छ। उक्त मार्गलाई आवश्यक परे यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न सकिने गरी तयार गरिँदैछ।
रातिको समयमा नयाँ सडकखण्डमा यात्रा सुरक्षित बनाउन स्थानीय तहसँगको समन्वयमा बत्ती जडान तथा सडकमा टल्किने सुरक्षा सामग्री राख्ने तयारीसमेत भइरहेको सडक विभागले जनाएको छ।
भोटेकोशीमा आएको बाढीले भदौ १० गते कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।
तपाईको प्रतिक्रिया