आइतबार १७ श्रावण २०८३
राजनीति

शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा

शनिबार श्रावण १६, २०८३/ Saturday 08-01-26

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आगामी राष्ट्रिय भेला सफल र व्यवस्थित बनाउन पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको छ।

शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मूल आयोजक समितिसँगै राष्ट्रिय भेलाको तयारीका लागि विभिन्न विषयगत समिति गठन गर्ने निर्णय सार्वजनिक गरिएको हो।

नेता मीनबहादुर विश्वकर्माले मूल आयोजक समितिमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनीत केन्द्रीय पदाधिकारी र सदस्य, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारी, जिल्ला सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारी, महानगर तथा नगर सभापतिलाई समावेश गरिएको जानकारी दिए। साथै संघीय र प्रदेश सांसद, पूर्वमन्त्री, पूर्वसांसद तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखलाई पदेन सदस्यका रूपमा राखिएको उनले बताए।

उनका अनुसार समितिका सबै सदस्यको नामावली तयार पार्न केही समय लाग्ने भएकाले प्रारम्भिक चरणमा पदका आधारमा पदेन सदस्य रहने व्यवस्था गरिएको हो।

राष्ट्रिय भेलाको तयारीलाई प्रभावकारी बनाउन मूल आयोजक समितिसँगै १६ वटा विषयगत समिति गठन गरिने निर्णय पनि गरिएको छ। राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान संशोधन मस्यौदा र आर्थिक नीति तयारीका लागि छुट्टाछुट्टै समिति रहने जनाइएको छ।

यसका अतिरिक्त प्रचारप्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, सांस्कृतिक कार्यक्रम, सहभागी व्यवस्थापन, स्वास्थ्य, शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापनका लागि पनि अलग समिति गठन गरिनेछ।

विश्वकर्माले मूल आयोजक समितिसहित सबै १६ वटा समितिलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आगामी बैठकले पूर्णता दिने बताए। उनका अनुसार मूल आयोजक समितिबाहेक अन्य विषयगत समितिका संयोजक र सदस्यको टुङ्गो पनि सोही बैठकबाट लगाइनेछ।

तपाईको प्रतिक्रिया