आइतबार १७ श्रावण २०८३
समाज

सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

शनिबार श्रावण १६, २०८३/ Saturday 08-01-26

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएका छन्।

शनिबार बिहान धनगढीस्थित मुख्यमन्त्री निवासमा आयोजित समसामयिक सुरक्षा अवस्था तथा विपद् व्यवस्थापनसम्बन्धी बैठकमा उनले सुनसरीसहित तराई–मधेसका विभिन्न जिल्लामा देखिएको पछिल्लो घटनाक्रमलाई दृष्टिगत गर्दै त्यसको प्रभाव सुदूरपश्चिममा पर्न नदिन आवश्यक पूर्वतयारी गर्न आग्रह गरेका हुन्।

मुख्यमन्त्री शाहले सामाजिक सद्भाव कायम राख्न सुरक्षा निकाय, प्रशासन र सम्बन्धित सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै सम्भावित चुनौतीको सामना गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए।

मुख्यमन्त्रीका जनसम्पर्क तथा प्रेस सल्लाहकार डम्बर बमका अनुसार बैठकमा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सामाजिक सद्भाव कायम राख्न सार्वजनिक अपिल जारी गर्ने तथा प्रदेशका सबै जिल्लामा सद्भाव र्‍याली सञ्चालन गर्ने तयारीबारे जानकारी गराइएको थियो।

मुख्यमन्त्रीले सामाजिक सद्भाव बिथोल्ने गतिविधिबारे समयमै सूचना संकलन र विश्लेषण गर्दै कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए। साथै मनसुनका कारण हुन सक्ने बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै उद्धार, प्रतिकार्य र विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राख्न पनि उनले आग्रह गरे।

बैठकमा प्रदेशको वर्तमान राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न स्थानमा भइरहेका प्रदर्शन र मनसुनजन्य विपद्का सम्भावित चुनौतीबारे विस्तृत छलफल भएको थियो। सहभागीहरूले सामाजिक सद्भाव कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी, नेपाली सेना सुदूरपश्चिम पृतना मुख्यालय तेघरीका पृतनापति उपरथी पवन खत्री, उपरथी किरण केसी, प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति दिग्विजय सुवेदीसहित सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया