काठमाडौं । सप्तरीको राजविराज र बोदेबरसाइन नगरपालिकामा आइतबार दिउँसोदेखि लागू गरिएको कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले दुवै क्षेत्रमा कर्फ्यु अन्त्य गर्दै अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा लागू रहने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको सूचनाअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा उक्त क्षेत्रमा निषेधाज्ञा लागू गरिएको हो।
निषेधाज्ञा अवधिभर पाँचजनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न रोक लगाइएको छ।
राजविराज नगरपालिकामा पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलही, उत्तरमा रुपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र निषेधाज्ञाभित्र परेको छ।
यस्तै, बोदेबरसाइन नगरपालिकामा पूर्वमा हुलाकी राजमार्गस्थित खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा चोक र दक्षिणमा मानराजा चोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमित रहन तथा प्रशासनले जारी गरेका निर्णयहरूको पालना गर्न आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया