कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला समिति घोषणा, संयोजकमा शशांक
काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई संयोजक चयन गरेको छ। पार्टी नेतृत्वसँग सहमतिको प्रयास सफल नभएपछि राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको समूहले जनाएको छ।
पत्रकार सम्मेलनमा संयोजक कोइरालाले पार्टीभित्र देखिएको अन्योल, असन्तुष्टि र कार्यकर्ताको निराशा सम्बोधन गर्न राष्ट्रिय भेला आवश्यक भएको बताए। उनका अनुसार संस्थापन पक्षबाट एकताका लागि अपेक्षित राजनीतिक पहल नभएपछि यो कदम चालिएको हो।
इतर समूहले भेलाको तयारीका लागि राजनीतिक, सांगठनिक, विधान संशोधन, आर्थिक नीति र प्रचार–प्रसारलगायत विषय समेट्ने १६ वटा उपसमिति गठन गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुनेछ। सो अवधिसम्म पनि राजनीतिक सहमति नभए नयाँ दल दर्ताको विकल्प खुला रहने समूहको संकेत छ।
शशांकलाई आयोजक समितिको संयोजक बनाइनुलाई सम्भावित नयाँ राजनीतिक यात्राको नेतृत्वका रूपमा समेत हेरिएको छ। समूहका नेताहरूले विपी कोइरालाको वैचारिक विरासत बोकेको नेतृत्वलाई अघि सार्ने सहमतिअनुसार शशांकलाई जिम्मेवारी दिइएको बताएका छन्।
यता, नेता डा. शेखर कोइरालाको पनि आफूहरूलाई समर्थन रहेको इतर समूहको दाबी छ। शशांकका अनुसार व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसके पनि शेखरले आफ्नो सहमति जनाइसकेका छन्।
यद्यपि, आयोजक समितिमा आफ्नो सहमतिबिनै नाम समावेश गरिएको भन्दै केही नेताले आपत्ति जनाएका छन्। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले विज्ञप्ति जारी गर्दै पार्टी विभाजनतर्फ उन्मुख हुने कुनै पनि गतिविधिमा आफू सहभागी नहुने स्पष्ट पार्दै कांग्रेसभित्रका विवाद विधान र संगठनात्मक प्रक्रियाअन्तर्गत समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया