शुक्रबार २२ श्रावण २०८३
प्रवास

अमेरिकाको नयाँ भिसा नियम: सीमित आवेदकले मात्रै धरौटी राख्नुपर्ने

बिहीबार श्रावण २१, २०८३/ Thursday 08-06-26

काठमाडौं । अमेरिकाले केही आप्रवासी भिसा आवेदकका लागि नयाँ धरौटी व्यवस्था लागू गरेको छ। तर यो व्यवस्था सबै भिसा आवेदकका लागि अनिवार्य नभई अमेरिकी सरकारको आर्थिक भार बन्न सक्ने जोखिम देखिएका सीमित आप्रवासी आवेदकका लागि मात्रै लागू हुने जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार सम्बन्धित अधिकारीले सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना देखिएका केही आवेदकलाई मात्रै धरौटी राख्ने विकल्प दिन सक्छन्। आवेदकले आफूखुसी धरौटी राख्न वा रकम बुझाउन भने पाउँदैन।

धरौटी राख्ने अनुमति पाएका आवेदकले तोकिएको प्रक्रिया पूरा गरेपछि मात्रै भिसा प्रक्रियामा अघि बढ्न पाउनेछन्। तर धरौटी बुझाउँदैमा भिसा स्वतः स्वीकृत हुने छैन। अन्य सबै कानुनी तथा प्रशासनिक मापदण्ड पनि पूरा गर्नुपर्नेछ।

धरौटीको रकम प्रत्येक आवेदकको अवस्था र जोखिमका आधारमा फरक–फरक निर्धारण गरिनेछ। सर्त पूरा गरेपछि प्रक्रिया अपनाएर धरौटी फिर्ता लिन सकिने भए पनि सर्त उल्लङ्घन भएको अवस्थामा रकम जफत हुन सक्ने व्यवस्था छ।

अमेरिकी विदेश मन्त्रालयले यो व्यवस्था हाल सीमित आवेदनमा परीक्षणका रूपमा लागू गरिएको जनाएको छ। त्यसैले अमेरिकी अधिकारीबाट औपचारिक सूचना नआएसम्म कुनै पनि आवेदकले धरौटीका नाममा रकम नबुझाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया