दसैँ-तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने प्रचण्डको चेतावनी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँतिहारपछि सरकारविरुद्ध सडक आन्दोलन अघि बढाउने संकेत दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका गतिविधि र कार्यशैलीविरुद्ध प्रतिपक्षी दल तथा विभिन्न वर्ग–समुदायलाई समेटेर आन्दोलन अघि बढाउने तयारी भइरहेको बताए।
उनका अनुसार संसद्भित्र रहेका प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ। सरकारले सुकुम्वासी, अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियनसँग सम्बन्धित आन्दोलनमा दमन र ज्यादती गरेको आरोप पनि उनले लगाए।
प्रचण्डले चाडपर्व सकिएपछि देशको राजनीतिक परिस्थितिको समीक्षा गर्दै सरकारविरुद्ध नयाँ आन्दोलनको पहल गर्ने बताए। उनले त्यसका लागि ‘बृहत् संयुक्त मोर्चा’ निर्माणको तयारी भइरहेको उल्लेख गरे।
“बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ,” उनले भने। उनका अनुसार चाडपर्वपछिको परिस्थितिलाई हेरेर सरकारका गतिविधि तथा आफूले ‘प्रतिक्रान्तिकारी षड्यन्त्र’ भनेका विषयविरुद्ध नयाँ राजनीतिक प्रतिवाद अघि बढाइनेछ।
सरकारका पछिल्ला गतिविधिका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको दाबी पनि प्रचण्डले गरे। नयाँ भनिएको सरकारका कामकारबाहीका कारण स्थापित राजनीतिक दल, नेता र उनीहरूका एजेन्डाप्रति जनताको आकर्षण पुनः बढिरहेको उनको भनाइ थियो।
“अहिले केही महिनाभित्रै यो नयाँ भनिएका सरकारका क्रियाकलापले जनतामा जुन दिग्भ्रमजस्तो भएको थियो, त्यो अब चिरिँदै छ,” उनले भने, “जुन भ्रम थियो, त्यो च्यातिँदै छ।”
देशका विभिन्न क्षेत्रमा पुग्दा आफूले नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको आकर्षण बढिरहेको महसुस गरेको प्रचण्डले बताए। उनले पार्टीका नेता तथा कार्यकर्ताले जनतामाझ पुगेर आफ्ना एजेन्डा बुझाउन सके आन्दोलनमा ठूलो सहभागिता जुट्न सक्ने दाबी गरे।
“हामी सबै आआफ्नो ठाउँबाट जनतामा गयौँ र जनतालाई बुझाउन सक्यौँ भने जनता छिट्टै हाम्रो आन्दोलनमा आउन सक्ने अवस्था छ,” उनले भने।
तपाईको प्रतिक्रिया