शनिबार २१ कार्तिक २०८३
समाज

यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

शनिबार कार्तिक २१, २०८३/ Saturday 11-07-26

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज शनिबार काग तिहार मनाइँदै छ। कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको दूतका रूपमा पूजा गरी मीठा खानेकुरा खुवाउने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले आज काग तिहार मनाउन लागिएको हो।

धार्मिक मान्यताअनुसार कागले यमराजसमक्ष पृथ्वीलोकको खबर पुर्‍याउने भएकाले यसलाई यमदूतका रूपमा लिने गरिन्छ। कागलाई खुसी बनाएर पूजा गर्दा शुभ समाचार प्राप्त हुने विश्वाससमेत छ।

काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना गरिन्छ।

यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार साँझदेखि नै सुरु भएको हो। शुक्रबार नै धनतेरस पर्व मनाइएको थियो भने परिवारका सदस्यको नाममा यमदीपदान गर्ने क्रमसमेत सुरु भएको छ। 

 

तपाईको प्रतिक्रिया