चाडपर्वमा सुरक्षा कडा, देशभर प्रहरी परिचालन; साइबर दुर्व्यवहारमा दुई पक्राउ
काठमाडौं । तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा बनाएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा प्रहरी परिचालन र निगरानी बढाइएको छ। बजार, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका तथा बढी भीडभाड हुने स्थानलाई विशेष प्राथमिकतामा राखिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले चाडपर्वका समयमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्यवस्तुमा मिसावट र आगलागीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको बताए।
यस्ता गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच तथा सादा पोसाकमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए। सुरक्षा निगरानीका लागि सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिनेछ। सम्भावित जोखिमको तत्काल सामना गर्न द्रुत परिचालन टोली र विपद् व्यवस्थापनका जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।
चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्रहरीले प्राथमिकता दिएको छ। देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ। अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा समेत यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
लामो दूरीका सवारीसाधन सञ्चालन गर्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्थासम्बन्धी कागजात जाँच गरिनेछ। लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ।
सीमा नाकामा रहेका सहायता कक्षमार्फत विदेशबाट फर्किने नेपाली नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा दुर्व्यवहारबाट जोगाउन आवश्यक सहयोग उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ
यसैबीच, सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्नुका साथै अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले इलामका विकल्प राई र सिन्धुपाल्चोकका सुजन पाण्डेलाई पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार राईले प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरेर महिलाको चरित्र हत्या गरेको आरोप छ।
त्यस्तै, पाण्डेले सामाजिक सञ्जाल एक्समार्फत पीडित महिलाका अश्लील तस्बिर तथा भिडियो आफूसँग रहेको र सार्वजनिक गरिदिने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पीडित महिलाले दिएको निवेदनका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गर्दा दुवै जनाको संलग्नता खुलेपछि पक्राउ गरिएको प्रवक्ता अवस्थीले बताए।
प्रहरीले राईलाई काठमाडौंको ठमेलस्थित पर्यटन मार्गबाट र पाण्डेलाई तारकेश्वरबाट पक्राउ गरेको हो।
पक्राउ परेका राईमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन र पाण्डेमाथि अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको साइबर ब्यूरोले जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया