६ बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे २५औँ सत्याग्रह
काठमाडौं। सरकारसँग ६ बुँदे सहमति भएपछि अनशनरत डा. गोविन्द केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्।
पटक–पटकको वार्तापछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरेका हुन्। केसीको अनशन तोडाएपछि मन्त्री पोखरेलले अब यो नै उनको अन्तिम सत्याग्रह हुने विश्वास व्यक्त गरेका छन्।
सहमति पत्रमा डा. केसी, शिक्षामन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।
सहमतिको मुख्य विषय सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान (आर्मी मेडिकल कलेज) मा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा विद्यार्थी सिट निर्धारणसम्बन्धी निर्णयको छानबिन रहेको छ।
यसका लागि प्रा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिनेछ। समितिले विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति र आर्मी मेडिकल कलेजमा सिट थप गर्ने निर्णय निर्धारित मापदण्डअनुसार भए–नभएको निष्पक्ष छानबिन गर्नेछ।
समितिले सरकारलाई प्रतिवेदन बुझाएपछि साझा प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीको म्याचिङ प्रक्रिया अघि बढाइने सहमति भएको छ।
त्यस्तै, छानबिनका क्रममा मापदण्डविपरीत काम भएको वा स्वार्थको द्वन्द्व देखिएमा संलग्न पदाधिकारी तथा व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने सहमतिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया