जनकपुरधाममा मनाइयो हनुमान जयन्ती, निकालियो शोभायात्रा
काठमाडौं। हिन्दु धर्मावलम्बीहरू यमपञ्चक पर्व मनाइरहेका बेला धनुषाको जनकपुरधाममा हनुमान जयन्ती मनाइएको छ।
हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजन तथा कीर्तनलगायत कार्यक्रम आयोजना गरेको छ।
यसअघि परिषद्ले जनकपुरधामको रेल्वे स्टेसनबाट शोभायात्रा निकालेको थियो। नगर परिक्रमासहित निकालिएको शोभायात्रामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमेत सहभागी भएका थिए।
सभामुख यादवले भगवान् हनुमान हिन्दु धर्मावलम्बीहरूको घरघरमा पूजिने देवता भएको उल्लेख गर्दै उहाँको जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्राले सनातन संस्कृतिको संरक्षणमा योगदान पुर्याउने बताए।
हनुमानको पूजा–आराधना तथा मन्त्र र स्तोत्र पाठ गर्दा शुभफल प्राप्त हुने, शनिग्रहको दोषबाट मुक्ति मिल्ने र भूतप्रेतको बाधा हट्ने धार्मिक विश्वास छ। त्यस्तै, हनुमानको पूजा गर्नाले वैवाहिक जीवन सुखमय हुने तथा पति–पत्नीबीचको मनमुटाव हट्ने जनविश्वास रहिआएको छ।
तपाईको प्रतिक्रिया