लक्ष्मीपूजामा विद्युत माग २ हजार मेगावाटसम्म पुग्ने प्राधिकरणको अनुमान
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज लक्ष्मीपूजाको साँझ विद्युत् माग १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म पुग्ने अनुमान गरेको छ।
नदीमा पानीको बहाव पर्याप्त रहेकाले विद्युत् आपूर्तिमा कुनै समस्या नआउने प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार हाल नेपालमा २ हजार ७ सयदेखि २ हजार ८ सय मेगावाटसम्म विद्युत् उपलब्ध गराउने क्षमता छ।
लक्ष्मीपूजाका दिन घरघरमा झिलिमिली बत्ती बालिने भएकाले घरेलु विद्युत् खपत बढ्ने भए पनि अधिकांश उद्योग तथा कलकारखाना बन्द रहने हुँदा माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको विश्वास छ।
गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को उच्चतम माग करिब १ हजार ६ सयदेखि १ हजार ७ सय मेगावाटसम्म पुगेको थियो।
यद्यपि, घरायसी विद्युत् खपत अत्यधिक बढ्दा मिटर तथा एमसीबीमा भार पर्न गई ट्रिप हुने वा मिटर जल्ने जस्ता प्राविधिक समस्या आउन सक्ने प्राधिकरणले जनाएको छ।
सम्भावित समस्या तत्काल समाधान गरी विद्युत् आपूर्ति नियमित राख्न देशभरका वितरण केन्द्रमा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।
तपाईको प्रतिक्रिया