बुधबार २७ श्रावण २०८३
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका पाँच निर्णय

मंगलबार श्रावण २६, २०८३/ Tuesday 08-11-26

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्ले विद्युतीय एम्बुलेन्स तथा शव वाहनमा कर छुटदेखि प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिलाई शहीद घोषणा गर्नेसम्मका निर्णय गरेको छ।

बैठकका प्रमुख निर्णयहरू यस्ता छन् :

१. विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट

नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरिएको छ।

२. चार जनालाई शहीद घोषणा

सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सरकारले शहीद घोषणा गरेको छ। शहीद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादव रहेका छन्।

३. काठमाडौंमा पोर्चुगलको काउन्सिलर कार्यालय खोल्न सहमति

पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न सरकारले सहमति प्रदान गरेको छ।

४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेती

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

५. एनसेलको सेयर कारोबारसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने

पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको २०८० सालमा तयार भएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि सरकारले गरेको छ।

तपाईको प्रतिक्रिया