बुधबार २७ श्रावण २०८३
खेलकुद

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चस्व

बुधबार श्रावण २७, २०८३/ Wednesday 08-12-26

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा पहिलोपटक पूर्वखेलाडीहरूको वर्चस्व देखिएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लो पटक धनीराम चौधरी र ललिता नाथलाई बोर्ड सदस्यमा मनोनयन गरेसँगै परिषद्को बोर्डमा पूर्वखेलाडीहरूको संख्या बढेको हो।

राष्ट्रिय खेलकुद विकास ऐनअनुसार रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयमार्फत चौधरी र नाथलाई मनोनयन गर्नुभएको हो।

नवनियुक्त सदस्य धनीराम चौधरी पूर्वराष्ट्रिय धावक तथा हाल प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले ४०० र ८०० मिटर दौडमा राष्ट्रिय कीर्तिमानसमेत कायम गर्नुभएको थियो।

त्यस्तै, ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुनुहुन्छ। उहाँ पछिल्लो समय कर्णाली यश्विस टोलीसँग आबद्ध हुनुहुन्थ्यो।

राखेपको उपाध्यक्षमा पूर्वफुटबल खेलाडी तथा गोलरक्षक विशाल श्रेष्ठ हुनुहुन्छ। बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पूर्वटेबल टेनिस खेलाडी हुनुहुन्छ। उहाँ विश्व महिला टेबल टेनिस वरियतामा ५१०औँ स्थानसम्म पुग्नुभएको थियो।

त्यसैगरी बोर्ड सदस्य शक्ति गौचन पूर्वराष्ट्रिय क्रिकेटर हुनुहुन्छ। मोनालिसा खम्बु पनि पूर्वखेलाडी हुनुहुन्छ भने पूर्वफुटबल खेलाडी पवन शाहीसमेत राखेप बोर्ड सदस्यका रूपमा कार्यरत हुनुहुन्छ।

नयाँ मनोनयनसँगै राखेपको नीति निर्माण तहमा प्रत्यक्ष खेल अनुभव भएका व्यक्तिहरूको प्रतिनिधित्व थप बलियो बनेको छ।

 

तपाईको प्रतिक्रिया