बुधबार २७ श्रावण २०८३
राजनीति

आज सात संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

बुधबार श्रावण २७, २०८३/ Wednesday 08-12-26

काठमाडौं। संघीय संसद्अन्तर्गतका विभिन्न सात वटा संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवअधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका, समस्या तथा चुनौती र आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३ को प्रतिवेदन पेस गरी छलफल गरिने कार्यसूची छ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा बालगृह, बाल सुधारगृह, महिला सुरक्षित आवासगृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाको संस्थागत अवस्था र अनुगमनबाट प्राप्त निष्कर्षमाथि छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का विषयमा छलफल गर्ने कार्यक्रम छ।

यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीमाथि छलफल गरिनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयन अवस्थाबारे छलफल हुनेछ। साथै, कार्यान्वयनका लागि नेपाल सरकारले गरेका कामकारबाहीबारे पनि जानकारी लिइनेछ।

बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिने कार्यक्रमसमेत रहेको छ।

 

तपाईको प्रतिक्रिया