बुधबार २७ श्रावण २०८३
समाज

शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

मंगलबार श्रावण २६, २०८३/ Tuesday 08-11-26

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ।

बयान तथा थुनछेक बहसका लागि गोल्छा मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बयान र थुनछेक बहस सकिएपछि अदालतले धरौटी रकम तोकेको हो।

यसअघि पनि गोल्छाले अन्य कसुरसम्बन्धी मुद्दामा धरौटी बुझाउनुपरेको थियो। जिल्ला अदालत काठमाडौंले बिमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ तथा धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

गोल्छासहितको सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शुलभ अग्रवाललगायत ३४ जना व्यक्ति र पाँचवटा कम्पनीलाई प्रतिवादी बनाइएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

अदालतले तोकेको एक करोड रुपैयाँ धरौटी बुझाएर तारिखमा बस्ने तयारीमा गोल्छा रहेको बताइएको छ।

यस्तै, मुद्दामा दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ। शुलभ अग्रवालविरुद्ध भने २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बिगो मागदाबी गरिएको छ।

तपाईको प्रतिक्रिया