बुधबार २७ श्रावण २०८३
समाज

ब्रोड पिकमा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो

मंगलबार श्रावण २६, २०८३/ Tuesday 08-11-26

काठमाडौँ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ।

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एअरवेजमार्फत मंगलबार अपराह्न नेपाल ल्याइएको हो। नेपाल ल्याइएका शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने भएको छ।

गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपहिरोमा परी ६ नेपालीसहित १० जनाको मृत्यु भएको थियो। घटनामा किली पेम्बा शेर्पा, ग्यालु शेर्पा, निमा शेर्पासँगै कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’ र नवाङ थिन्डु शेर्पाको पनि मृत्यु भएको थियो।

यसअघि पुरबहादुर गुरुङ ‘युक्ता’को शव साउन २१ गते नेपाल ल्याइएको थियो। उनको स्वयम्भूमा अन्त्येष्टि सम्पन्न भइसकेको छ।

कीर्तिमानी आरोही निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि लन्डनमै गरिने भएको छ। यस्तै, भौगोलिक कठिनाइका कारण नवाङ थिन्डु शेर्पाको शव भने अझै सङ्कलन गर्न सकिएको छैन।

तपाईको प्रतिक्रिया