देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वी भूभागमा सरदर स्थान आसपास तथा पश्चिमी भूभागमा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको छ।
हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र लुम्बिनीका केही स्थान, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकीका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेससहित कोशी र बागमतीका तराई क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षा हुने सम्भावित क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया