इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु
काठमाडौँ। इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना घाइते भएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ५ बजेर ५८ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रविन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्दे सहरबाट करिब ६८ किलोमिटर उत्तर–पश्चिममा तथा जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार माउमेरे बन्दरगाह क्षेत्रमा एक पुरुष र एक महिलाको मृत्यु भएको हो। भूकम्पपछि एक जना घाइते भएका छन्।
मुख्य भूकम्प गएको करिब आधा घण्टाभित्र ५.९, ५.६ र ६.१ म्याग्निच्युडका शक्तिशाली पराकम्पसमेत गएको बताइएको छ। भूकम्पका कारण माउमेरे तथा बन्दरगाह आसपासका घर र अन्य भौतिक संरचनामा क्षति पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
फ्लोरेस क्षेत्र भूकम्पीय रूपमा संवेदनशील मानिन्छ। यसअघि सन् १९९२ मा सोही क्षेत्रमा ७.७ म्याग्निच्युडको भूकम्प गएपछि आएको सुनामीले ठूलो जनधनको क्षति गरेको थियो।
भूकम्पपछि इन्डोनेसियाको मौसम तथा भूगर्भसम्बन्धी निकायले प्रभावित तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो। सर्वसाधारणलाई नदी किनार तथा समुद्री तटबाट टाढा रहन र सुरक्षित उच्च भूभागतर्फ जान आग्रह गरिएको थियो।
तपाईको प्रतिक्रिया