आइतबार ३१ श्रावण २०८३
समाज

काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस समारोह मनाइयो

शनिबार श्रावण ३०, २०८३/ Saturday 08-15-26

काठमाडौं भारतको ८०औँ स्वतन्त्रता दिवस काठमाडौंस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रमसहित मनाइएको छ।

हरेक वर्ष १५ अगस्टमा मनाइने स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दूतावास परिसरमा भारतीय राष्ट्रिय झण्डा फहराएका थिए। त्यसपछि राष्ट्रिय गान बजाइएको थियो।

कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिएको सम्बोधनसमेत प्रसारण गरिएको थियो।

समारोहका क्रममा भारतीय सशस्त्र सेनाका दिवंगत ११ सैनिकका विधवा तथा निकटतम हकदारलाई सम्मान गरिएको थियो। साथै, एजीआईएफअन्तर्गत कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरका चेकसमेत हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

स्वतन्त्रता दिवसकै अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरिएको थियो। ‘विकसित भारत’ विषयमा आयोजित चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’ तथा अन्तरविद्यालय क्विज प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको हो।

यसै अवसरमा दूतावासले नेपालका सातवटै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान उपलब्ध गराउने घोषणा गरेको छ।

दूतावासले भारतको स्वतन्त्रता दिवसलाई नेपाल–भारतबीचको सम्बन्ध, शिक्षा तथा सामाजिक सहकार्यलाई थप मजबुत बनाउने अवसरका रूपमा मनाएको जनाएको छ।

तपाईको प्रतिक्रिया