आइतबार ३१ श्रावण २०८३
समाज

रानाथारू समुदायमा मौलिक शैलीमा मनाइयो तीज

दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
आइतबार श्रावण ३१, २०८३/ Sunday 08-16-26

कञ्चनपुर। कैलाली र कञ्चनपुरका रानाथारू समुदायले आफ्नो मौलिक परम्पराअनुसार साउन शुक्ल तृतीयाका दिन तीज पर्व मनाएका छन्।

रानाथारू महिलाहरूले दाजुभाइ तथा भतिजाको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै निराहार व्रत बसेर पिङ खेल्दै पर्व मनाएका हुन्। तीजका दिन पुरी, पापड, सेमइ, पकौडालगायतका परिकार बनाएर आफन्त तथा छिमेकीलाई खुवाउने चलन छ।

रानाथारू समुदायमा तीज आउन १५ दिनअघि नै दिदीबहिनीलाई निम्ता दिने र गाउँमा ‘सावनकी डोला’ अर्थात् पिङ हाल्ने परम्परा छ। व्रत बसेका महिलाले साँझ कुसको गाँठो चाँदीको सिक्काले काटेर नदीमा बगाउने र त्यसैका आधारमा दाजुभाइको दीर्घायु हुने धार्मिक विश्वास रहेको छ।

खेतीपातीको काम सकेपछि थकान मेटाउने पर्वका रूपमा समेत मनाइने तीज पछिल्लो समय नयाँ पुस्तामाझ पनि लोकप्रिय बन्दै गएको स्थानीय बताउँछन्।

 

तपाईको प्रतिक्रिया