आइतबार ३१ श्रावण २०८३
समाज

जाजरकोटमा पहिरोमा परी एक जनाको मृत्यु, तीन जना बेपत्ता

आइतबार श्रावण ३१, २०८३/ Sunday 08-16-26

काठमाडौँ। जाजरकोटको भेरी नगरपालिका–२ मा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। घटनामा सात जना घाइते भएका छन्।

पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

पहिरोमा पुरिएका ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र अर्का एक जनाको खोजी भइरहेको छ।

घाइतेमध्ये पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण जाजरकोटका विभिन्न क्षेत्रमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ। भेरी नगरपालिकाका रिसाङ, स्याँला, माथिल्लो थाप्ले, ठाँटी, पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँलगायतका बस्ती उच्च जोखिममा परेका छन्।

सडक ठाउँ–ठाउँमा भत्किएर अवरुद्ध हुँदा उद्धार कार्यसमेत प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा स्थानबाट सुरक्षित ठाउँमा सर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया