आइतबार ३१ श्रावण २०८३
समाज

जाजरकोटमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई बेपत्ता

आइतबार श्रावण ३१, २०८३/ Sunday 08-16-26

काठमाडौँ । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।

पहिरोमा परी घाइते भएका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। बेपत्ता भएका चार जनामध्ये ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

पहिरोपछि भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भमीबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक अझै सम्पर्कविहीन छन्।

पहिरोमा पुरिएर ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन्। घाइतेमध्ये रामबहादुर र भद्रकलाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ।

बेपत्ताको खोजीका लागि नेपाली सेनासहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

 

तपाईको प्रतिक्रिया