पार्टीभित्र अराजकता बढ्यो, अनुशासन तोड्नेलाई कारबाही हुन्छः ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनहीनता र अराजकता बढेको भन्दै असन्तुष्टि जनाएका छन्।
इलाममा आयोजित कार्यक्रममा ओलीले पार्टीको विधि, विधान र प्रक्रियाविपरीत गतिविधि गर्नेहरूलाई अनुशासनको दायरामा ल्याउने चेतावनी दिए। महाधिवेशनबाट निर्वाचित नेतृत्व हटाउने भन्दै भइरहेको चर्चा र हस्ताक्षर अभियानलाई उनले ‘अराजकताको पराकाष्ठा’ बताए।
पार्टीको नेतृत्व परिवर्तन निश्चित विधि र प्रक्रियाबाट हुने उल्लेख गर्दै ओलीले चिया पसल, क्यान्टिन वा अनौपचारिक बैठकमा बसेर नेतृत्व हटाउने कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरे।
उनले पार्टीमाथि बाह्य शक्ति र राजनीतिक विरोधीबाट प्रहार भइरहेको अवस्थामा आन्तरिक विवादमा अल्झिनु आत्मघाती हुने बताए। यस्तो अवस्थामा सिंगो पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई थप दृढ अनुशासनका साथ अघि बढाइने ओलीले स्पष्ट पारे। सामाजिक सञ्जालमार्फत पार्टीको बदनाम गर्ने र अराजकता फैलाउने गतिविधि रोक्न निर्देशन दिँदै उनले पार्टीमा रहने हो भने विधि र अनुशासन पालना गर्न आग्रह गरे।
ओलीले कार्यकर्तालाई भ्रममा नपरी पार्टीको उद्देश्यप्रति दृढ विश्वासका साथ अघि बढ्नसमेत आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया