सोमबार १ भदौ २०८३
राजनीति

सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

आइतबार श्रावण ३१, २०८३/ Sunday 08-16-26

काठमाडौँ। नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्रस्ताव पारित गरेको छ। सुकेधारामा आइतबार सम्पन्न भेलाले नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा जोड दिएको हो।

भेलाबाट पारित प्रस्तावमा नेपालमा परम्परादेखि कायम धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायलाई आफ्नो धर्म पालन गर्ने अधिकार सुनिश्चित गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ।

कांग्रेसले नेपालमा प्राचीनकालदेखि प्रचलनमा रहेका हिन्दु, बौद्ध, किराँत तथा प्राकृत धर्मको संरक्षणलाई पनि आफ्नो दायित्वका रूपमा प्रस्तुत गरेको छ। यस्ता मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षणका लागि पार्टीले विशेष भूमिका निर्वाह गर्ने प्रस्तावमा उल्लेख छ।

सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोडेर अघि बढाउने नीति लिए पनि कांग्रेसले व्यक्तिगत धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावलाई समान रूपमा प्राथमिकता दिएको जनाएको छ। बहुधार्मिक तथा बहुसांस्कृतिक नेपालको विशेषतालाई कायम राख्दै विभिन्न धर्म र समुदायबीच एकता, सहिष्णुता र आपसी सम्मानलाई पार्टीले नीतिगत आधार बनाएको छ।

समापन समारोहमा बोल्दै निवर्तमान सभापति शेरबहादुर देउवाले आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्म मान्ने भए पनि सबै धर्मप्रति समान सम्मान राख्ने धारणा व्यक्त गरेका थिए। राष्ट्रिय भेलाको अन्तिम चरणमा प्रस्तावमा प्रयोग गरिने शब्द चयनलाई लिएर केही नेताबीच सामान्य मतभेदसमेत देखिएको थियो।

तपाईको प्रतिक्रिया