काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेठको भ्रमण मुख्यतः दुई विषयमा केन्द्रित छ । पहिलो, उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिनेछ भने दोस्रो, नेपाल–भारतबीचको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, सोमबार नै जंगी अड्डामा नेपाली सेनाका प्रधानसेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठबीच द्विपक्षीय भेटवार्ता हुने जनाइएको छ । भेटवार्तामा दुई देशबीचको सैन्य सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
चारदिने नेपाल भ्रमण पूरा गरी भारतीय सेना प्रमुख सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
तपाईको प्रतिक्रिया