प्रधानमन्त्रीलाई सांसदका प्रश्नको जवाफ दिन सभामुखको निर्देशन
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै सांसदहरूले गरिरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।
उनले नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन निर्देशन दिए।
सीमा सम्बन्धी अभिव्यक्तिको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी भएर जवाफ दिनुपर्ने मागसहित लामो समयदेखि सदनमा विरोध गर्दै आएका थिए।
सभामुखको निर्देशनपछि विपक्षी दलका सांसदहरूले आ–आफ्नो आसन ग्रहण गरेका थिए।
तपाईको प्रतिक्रिया