विराटनगर । नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहभागी हुने भएको छ। सरकार पुनर्गठनअन्तर्गत नेकपाबाट मन्त्री बन्ने पाँच जनाको नाम टुंगो लागेको छ।
नेकपाका अनुसार मोरङका जीवन आचार्यलाई भौतिक पूर्वाधारमन्त्री बनाइनेछ। त्यस्तै, इलामकी खिनु लङ्वा लिम्बूलाई वन, पर्यटन तथा वातावरण, सोलुखुम्बुका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र मोरङकी गीता तिम्सिनालाई सामाजिक विकासमन्त्रीको जिम्मेवारी दिने निर्णय भएको छ।
सुनसरीकी सपना परियारलाई राज्यमन्त्री बनाउने तयारी छ। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको शपथ सोमबार अपराह्न ३ बजे गराउने तयारी गरिएको छ।
मन्त्रीका आकांक्षी सांसदको संख्या धेरै भएपछि नेकपाले नाम छनोट गर्न केही समय लगाएको थियो। मन्त्री चयनको जिम्मेवारी नेकपा कोशीका इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संसदीय दलका नेता इन्द्र आङ्बो र प्रदेश अध्यक्ष हर्क नेम्वाङलाई दिइएको थियो। तीन नेताबीच सोमबार बिहान भएको छलफलपछि मन्त्रीहरूको नाममा सहमति जुटेको हो।
नवनियुक्त भौतिक पूर्वाधारमन्त्री बन्न लागेका जीवन आचार्य नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँसमेत हुन्।
तपाईको प्रतिक्रिया