हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएका छन्। सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।
राजीनामाको घोषणासँगै मुख्यमन्त्री बानियाँमाथि विश्वासको मतका लागि हुने भनिएको मत विभाजन प्रक्रिया अघि बढ्न सकेन। सम्बोधनका क्रममा उनले आफ्नो करिब १३ महिनाको कार्यकालमा भएका काम तथा उपलब्धिबारे प्रदेशसभालाई जानकारी गराएका थिए।
नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने अवस्था बनेको थियो। सरकारलाई निरन्तरता दिन उनले हाम्रो नेपाली पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को समर्थन जुटाउने प्रयास गरेका थिए। तर आवश्यक समर्थन सुनिश्चित हुन नसकेपछि उनले राजीनामा दिएका हुन्।
विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउन आवश्यक व्यवस्था मिलाइदिन भन्दै मुख्यमन्त्री बानियाँले शुक्रबार प्रदेशसभा सचिवालयलाई पत्रसमेत पठाएका थिए।
१०४ सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपा (माओवादी केन्द्र)का २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। प्रदेशमा सरकार गठन गर्न कम्तीमा ५३ सांसदको समर्थन आवश्यक हुन्छ।
तपाईको प्रतिक्रिया