काठमाडौं। सरकारले काठमाडौँका विभिन्न स्थान तोकेर आफैं ग्यास बिक्री–वितरण गर्ने व्यवस्था हटाएको छ। नेपाल आयल निगमले आजदेखि ग्यास उद्योगहरूले नियुक्त गरेका आधिकारिक बिक्रेतामार्फत नियमित प्रक्रियाबाटै ग्यास बिक्री हुने जनाएको छ।
निगमले सूचना जारी गर्दै उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यास वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले उद्योगी, बिक्रेता तथा वितरकलाई दैनिक बिक्री विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। उद्योगीहरूले दैनिक बिक्री गर्ने बिक्रेता वा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री भएको सिलिन्डरको संख्या हरेक दिन बिहान ९ बजेभित्र निगमलाई उपलब्ध गराउनुपर्नेछ।

निगमले घरायसी प्रयोजनका लागि अत्यावश्यक ग्यास आवश्यक पर्ने उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री गर्नसमेत निर्देशन दिएको छ। साथै ग्यास ढुवानी तथा वितरणमा सुरक्षाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक सहजीकरण गर्न गृह मन्त्रालयलाई अनुरोध गरिएको जनाएको छ।
यसअघि सरकारले काठमाडौँका विभिन्न स्थानबाट आफैं खुद्रा बिक्रेताको भूमिकामा ग्यास वितरण थालेपछि वितरण प्रणाली थप अव्यवस्थित बनेको थियो।
तपाईको प्रतिक्रिया