सोमबार १ भदौ २०८३
अर्थ

भदौ महिनामा ब्याजदर : ५ बैंकले घटाउँदा १५ बैंकको यथावत

सोमबार भदौ १, २०८३/ Monday 08-17-26

 

काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेपछि वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदरमा ठूलो परिवर्तन गरेका छैनन्। अधिकांश बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकले बचत खाताको दरमा सामान्य हेरफेर गरेका छन्।

भदौमा बचत निक्षेपको ब्याजदर बढाउनेमा कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र माछापुच्छ्रे बैंक छन्। कृषि विकास बैंकले ०.०३ प्रतिशतले दर बढाएर २.७८० देखि ३.३९० प्रतिशतसम्म पुर्‍याएको छ। प्राइम कमर्सियलले ०.०१ प्रतिशत बढाउँदै २.७६० देखि ३.०२० प्रतिशत र माछापुच्छ्रेले पनि ०.०१ प्रतिशत बढाएर २.७६० देखि ३.०१० प्रतिशत कायम गरेका छन्।

यसैबीच, सिटिजन्स बैंकले भने बचतको ब्याजदर घटाएको छ। बैंकले न्यूनतम दर ०.०१ प्रतिशत र अधिकतम दर ०.२१ प्रतिशतले कटौती गरेपछि अब बचतमा २.७५० देखि २.८०० प्रतिशतसम्म ब्याज पाइनेछ।

कुन बैंकले बढी ब्याज दिँदैछन्?

वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले बचतमा सबैभन्दा बढी ३.७५० प्रतिशतसम्म ब्याज दिने दरलाई निरन्तरता दिएको छ। कुमारी बैंकले पनि बचतमा अधिकतम ३.३१० प्रतिशतसम्म ब्याज दिने योजना ल्याएको छ।

व्यक्तिगत मुद्दती निक्षेपतर्फ नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्। एनआईएमबी, माछापुच्छ्रे, सानिमा र एनएमबि बैंकले व्यक्तिगत मुद्दतीमा ४.५० प्रतिशतसम्म ब्याज दिने भएका छन्।

एनआईएमबी, एनआईसी एसिया, हिमालयन, सिद्धार्थ, नेपाल बैंक, प्रभु, लक्ष्मी सनराइज, सानिमा, राष्ट्रिय वाणिज्य बैंक, एसबीआई, नबिल, एनएमबि, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट र ग्लोबल आइएमई बैंकले भने बचतको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

संस्थागत मुद्दती निक्षेपमा हिमालयन, एभरेष्ट, एनआईएमबी, नेपाल बैंक र एनएमबि बैंकले अधिकतम ३.५० प्रतिशतसम्म ब्याजदर कायम गरेका छन्।

समग्रमा, भदौमा बैंकहरूको ब्याजदरमा उल्लेख्य उतारचढाव नदेखिए पनि तुलनात्मक रूपमा बढी प्रतिफल खोज्ने निक्षेपकर्ताका लागि प्रभु, नबिल र एनआईएमबीका योजनाहरू आकर्षक देखिएका छन्।

तपाईको प्रतिक्रिया