मंगलबार २ भदौ २०८३
राजनीति

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

सोमबार भदौ १, २०८३/ Monday 08-17-26

 

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा उनको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो।

प्रदेशसभामा कायम ८३ सदस्यमध्ये ७१ जना मतदान प्रक्रियामा सहभागी भएका थिए। प्राप्त मत बहुमतमा रहेपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएको घोषणा गरेका हुन्।

आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरूले समर्थन गरेका थिए। नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो।

कांग्रेसको समर्थन गुमे पनि मुख्यमन्त्री आचार्यले सरकारमा सहभागी तथा समर्थक दलहरूको साथ कायम राख्दै बहुमत जुटाउन सफल भएका हुन्।

सोमबारको बैठकमा आठ जना सांसद भने अनुपस्थित रहे। हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा उपस्थित भएनन्।

तपाईको प्रतिक्रिया