प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा सैन्य सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष सेठ आइतबार काठमाडौं आएका हुन्। पाँच सदस्यीय भ्रमण टोलीमा उनकी धर्मपत्नी कोमल सेठसमेत सहभागी छन्।
भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक–अर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।
सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा आपसी हितका विषयसँगै नेपाल–भारत सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
भ्रमणकै क्रममा सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गरेका छन्। उनले मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआजासमेत गरेका थिए।
नेपाली सेनाका अनुसार मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस्तो भ्रमणले नेपाल र भारतबीचको सैनिक सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउन सहयोग पुग्नेछ। सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
तपाईको प्रतिक्रिया