बुधबार ३ भदौ २०८३
समाज

राति १० बजेदेखि बिहान ५ बजेसम्म टोखा–छहरे सडक बन्द

बुधबार भदौ ३, २०८३/ Wednesday 08-19-26

नुवाकोट । लगातारको वर्षासँगै सडकमा पहिरो, लेदो र गेग्रान खस्ने जोखिम बढेपछि नुवाकोट प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित सडकखण्डमा पहिरोको जोखिम बढेकाले यात्रुको सुरक्षाका लागि हरेक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

भदौ १ गते रातिदेखि लागू भएको यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ । जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ । एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधन भने सञ्चालन गर्न दिइनेछ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले वर्षाका कारण सडक र मौसम जोखिमपूर्ण रहेकाले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न सर्वसाधारण तथा यातायात व्यवसायीलाई आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले पनि सडकको अवस्थालाई ध्यानमा राख्दै प्रशासनको निर्णय पालना गर्न र सावधानी अपनाउन आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया