रास्वपा बैठकमा मन्त्री र सांसदको कार्यशैलीमाथि प्रश्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकमा मन्त्री र सांसदहरूको कार्यशैली, संसदीय मर्यादा तथा आपसी समन्वयबारे गम्भीर छलफल भएको छ।
सभापति रवि लामिछानेले बोलाएको बैठकमा सांसदहरूले काम गर्न नसक्ने मन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने, प्रचारमुखी गतिविधि र ‘स्टन्टबाजी’ रोक्नुपर्ने तथा आफ्नो अधिकार क्षेत्रमै केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।
ग्यासको अभाव, कालोबजारी, मन्त्रीहरूको कार्यशैली र अर्थमन्त्री स्वर्णिम वाग्लेको करदाता प्रोत्साहन कार्यक्रमबारे समेत प्रश्न उठेको थियो। केही सांसदले प्रदेश र स्थानीय तहको कार्यक्षेत्रमा मन्त्रीहरूले हस्तक्षेप गरेको भन्दै सचेत गराए।
बैठकमा विवादमा आएका केही सांसदको व्यवहारमाथि पनि प्रश्न उठेको थियो। लामिछानेले सांसद र मन्त्री दुवैलाई मर्यादित, पारदर्शी र जिम्मेवार भएर काम गर्न निर्देशन दिँदै ‘स्टन्टबाजी र प्रचार होइन, परिणाम दिन’ आग्रह गरे।
उनले मन्त्री तथा सांसदलाई ‘आरएसपी पल्स’ एपमा आफ्ना गतिविधि, भ्रमण, भेटघाट र संसद्मा प्रस्तुत गर्ने विषयसमेत अद्यावधिक गर्न निर्देशन दिए।
बैठकमा रास्वपाको संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गर्ने निर्णयसमेत भएको छ।
तपाईको प्रतिक्रिया