एनपीएलको तेस्रो संस्करण : विदेशी खेलाडी भित्र्याउने तयारी तीव्र
एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक भएसँगै सहभागी फ्रेन्चाइज टोलीहरू तयारीमा जुटेका छन्। घरेलु खेलाडीको टुङ्गो लगाइसकेका टोलीहरू अहिले विदेशी खेलाडी अनुबन्धमा केन्द्रित भएका छन्।
केही टोलीले विदेशी खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् भने अधिकांशले अघिल्ला संस्करणमा प्रभावशाली प्रदर्शन गरेका खेलाडीलाई नै निरन्तरता दिएका छन्।
सुदूरपश्चिम रोयल्स
लगातार दुई संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले इंग्ल्याण्डका सेफ अली जैब र न्यूजिल्याण्डका स्कट कुगेलेइनलाई अनुबन्ध गरेको छ। दुवै खेलाडी लगातार तेस्रोपटक एनपीएल खेल्ने तयारीमा छन्।
कुगेलेइनले पहिलो र दोस्रो संस्करण सुदूरपश्चिमबाटै खेलेका थिए। सेफले भने पहिलो संस्करण सुदूरपश्चिम तथा दोस्रो संस्करण चितवन राइनोजबाट खेलेका थिए।
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सेफ पहिलो संस्करणमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। कुगेलेइन भने एनपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्।
कुगेलेइनले १७ खेलमा ६.४७ को इकोनोमीमा २७ विकेट लिएका छन्। सेफले १६ खेलमा १३६.२९ को स्ट्राइक रेटमा ३९१ रन बनाएका छन्।
दुवै खेलाडीलाई पुनः टोलीमा भित्र्याउन पाउँदा उत्साहित रहेको सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताएका छन्।
जनकपुर बोल्ट्स
पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले अहिलेसम्म भारतीय मूलका अमेरिकी अलराउन्डर हरमित सिंहलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
हरमितले लगातार तेस्रोपटक एनपीएल खेल्नेछन्। उनले पहिलो र दोस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए।
एनपीएलमा १४ खेल खेलेका हरमितले २० विकेट लिनुका साथै १६१ रन बनाएका छन्। जनकपुरले उनलाई यसपटक कप्तानको जिम्मेवारीसहित टोलीमा भित्र्याएको हो।
जनकपुरका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाका अनुसार नयाँ ऊर्जा, सोच र संकल्पका साथ अघि बढ्ने लक्ष्यसहित हरमितलाई नेतृत्वको जिम्मेवारी दिइएको हो।
लुम्बिनी लायन्स
गत संस्करणको विजेता लुम्बिनी लायन्सले श्रीलंकाका विकेटकिपर–ब्याटर निरोशन डिकवेलालाई तेस्रो संस्करणका लागि पुनः अनुबन्ध गरेको छ।
डिकवेलाले गत संस्करण लुम्बिनीबाटै खेलेका थिए। टोलीलाई उपाधि दिलाउन उनको महत्वपूर्ण भूमिका थियो। उनी टोलीमा आबद्ध भएपछि लुम्बिनीले लगातार ६ खेलमा जित निकालेको थियो।
डिकवेलाले लुम्बिनीका लागि हालसम्म ६ खेलमा १३७ रन बनाएका छन्। लुम्बिनीका अध्यक्ष ईश्वर जिसीले आगामी संस्करणमा पनि डिकवेलाबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा रहेको बताएका छन्।
लुम्बिनीले बाँकी विदेशी खेलाडी पनि छिट्टै अनुबन्ध गर्ने जनाएको छ।
चितवन राइनोज
पहिलो उपाधिको खोजीमा रहेको चितवन राइनोजले इंग्ल्याण्डका अनुभवी अलराउन्डर रवि बोपारालाई अनुबन्ध गरेको छ।
बोपारा लगातार तेस्रोपटक चितवनबाट एनपीएल खेल्नेछन्। उनले हालसम्म एनपीएलका १५ खेलमा ५२३ रन बनाएका छन्। उनी प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्।
चितवनले तेस्रो संस्करणका लागि पाकिस्तानका पूर्वतीव्र गतिका बलर सोहेल तनवीरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। तनवीर अघिल्ला दुई संस्करणमा चितवनबाट खेलाडीका रूपमा आबद्ध थिए।
पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सले तेस्रो संस्करणका लागि श्रीलंकाका पूर्वस्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
अन्तर्राष्ट्रिय अनुभव, प्राविधिक ज्ञान र नेतृत्व क्षमताले टोलीको प्रदर्शनमा सुधार आउने पोखराको विश्वास छ। टोलीका महाप्रबन्धक अमित लोहनीले मेन्डिसको आगमनले प्रदर्शन सुधारसँगै युवा खेलाडीको विकासमा समेत सहयोग पुग्ने बताएका छन्।
विदेशी खेलाडीका रूपमा पोखराले श्रीलंकाका अलराउन्डर धनञ्जय लक्षणलाई अनुबन्ध गरेको छ। उनी दोस्रोपटक पोखराबाट एनपीएल खेल्नेछन्। गत संस्करणमा तीन खेल खेलेका लक्षणले १० विकेट लिनुका साथै ५३ रन बनाएका थिए।
तीन टोलीले विदेशी खेलाडी सार्वजनिक गर्न बाँकी
काठमाडौं गोर्खाज, विराटनगर किंग्स र कर्णाली याक्सले भने तेस्रो संस्करणका लागि अहिलेसम्म कुनै विदेशी खेलाडीको नाम सार्वजनिक गरेका छैनन्।
यी टोलीहरूले विदेशी खेलाडीसँग सम्झौताका विषयमा छलफल भइरहेको र केही दिनभित्र नाम सार्वजनिक गर्ने तयारी रहेको जनाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ। प्रतियोगिताको खेल तालिका भने सार्वजनिक हुन बाँकी छ।
तपाईको प्रतिक्रिया