मन्त्रिपरिषद्का ११ निर्णय : विद्यालय कर्मचारीदेखि विमानस्थल सुधारसम्म
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँ बढाउने निर्णय गरेको छ। यस्तै, शिक्षण सहयोग अनुदानमा कार्यरत कक्षा ६–८ र ९–१० का शिक्षकको तलब क्रमशः निम्न माध्यमिक तृतीय र माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम गर्ने निर्णय भएको छ।
बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यातायात नियन्त्रण सुधार परियोजनाका लागि जापानबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै, भारतमा हुने सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूहको बैठकमा प्रतिनिधिमण्डल पठाउने, नेपालमा एसियन डिजास्टर प्रिपियरनेस सेन्टरको शाखा स्थापना गर्ने तथा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरिएको छ।
सरकारले नेपाल–साउदी द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिनुका साथै भुक्तानी तथा फर्छ्यौट ऐन र नागरिक लगानी कोष ऐन संशोधनसम्बन्धी विधेयक संसद्मा पेस गर्न पनि स्वीकृति दिएको छ।
बैठकले सहसचिव कमलप्रसाद भट्टराईलाई सचिवमा बढुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।
तपाईको प्रतिक्रिया