बिहीबार ४ भदौ २०८३
राजनीति

खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्

बिहीबार भदौ ४, २०८३/ Thursday 08-20-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी मुख्यालयमा बिचौलियाको प्रभाव रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरीका स्रोत–साधन खरिद प्रक्रियामाथि पुनः प्रश्न उठाएका हुन् ।

सांसद सुनारले यसअघि समितिले प्रहरीका खरिदसम्बन्धी विवरण १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको स्मरण गराउँदै उक्त जानकारी प्राप्त भए–नभएको प्रश्न गरे । उनले त्यसबीचमा प्रहरीले करोडौं रुपैयाँका टेन्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामा निश्चित बिचौलियाको प्रभाव रहेको दाबी गरे ।

अघिल्लो बैठकमा आफूले उठाएका प्रश्नमा अझै पनि कायम रहेको बताउँदै सुनारले आफ्ना अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भए कानुनी बाटो रोज्न चुनौती दिए । उनले आफू अदालतमा हुने प्रश्नको जवाफ दिन तयार रहेको बताए ।

प्रहरी महानिरीक्षकतर्फ संकेत गर्दै उनले समितिको बैठकमा आएर सवाल–जवाफको शैलीमा प्रस्तुत हुन नहुने टिप्पणीसमेत गरे । सार्वभौम संसदीय समितिको मर्यादा कायम राख्नुपर्ने उनको भनाइ थियो ।

यसअघि समितिको बैठकमा सांसद सुनारले प्रहरी अधिकारीसँग गरेको सवाल–जवाफ र प्रस्तुत गरेको शैलीको बाहिर समेत आलोचना भएको थियो । विषयमा सभामुखले चासो लिएर समितिका सभापति, सचिव तथा प्रहरी महानिरीक्षकसँग छलफल गरेका थिए । त्यसपछि रास्वपाले आफ्ना सांसदहरूलाई बैठकमा मर्यादित शैली अपनाउन निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया