नेपालगञ्ज । लामो समयदेखि स्थगित नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ।
बुद्ध एयरले यात्रुको माग बढेपछि सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान पुनः सुरु गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ र बुकिङसमेत खुला गरिएको छ।
भारतको उत्तर प्रदेशबाट पोखरा आउने धार्मिक पर्यटकलाई लक्षित यो उडान गत जेठ ५ गतेदेखि स्थगित थियो। धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ्नुका कारण सेवा रोकिएको थियो। पछिल्लो समय पर्यटक तथा यात्रुको माग बढेपछि उडान पुनः सञ्चालन गर्न लागिएको शाहले बताए।
उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यसले पश्चिम नेपाल तथा भारतका नागरिकलाई पोखरासँग प्रत्यक्ष जोड्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
उनका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखराबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा आवतजावत सहज हुनेछ। साथै बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत क्षेत्रका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुनेछ।
स्थानीय पर्यटन व्यवसायीको पहलमा २०७८ साल साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा उडान सातामा तीन दिन सञ्चालन गरिएको थियो।
तपाईको प्रतिक्रिया