बिहीबार ३ मङ्सिर २०८३
राजनीति

दानबहादुर कार्कीको रिटमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफल सोमबार

बुधबार मङ्सिर २, २०८३/ Wednesday 11-18-26

काठमाडौं । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कार्कीलाई आईजीपी पदबाट हटाउने निर्णय किन बदर नगर्ने र उनलाई पुनर्बहाली किन नगर्ने भन्ने आधार र कारणसहित जवाफ पेश गर्न सरकारलगायत विपक्षीका नाममा आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा तीनवटा महत्वपूर्ण विषय समेटिएका छन्।

पहिलो, कार्कीले माग गरेबमोजिम तत्काल अन्तरिम आदेश जारी गर्न सर्वोच्चले अस्वीकार गरेको छ । तर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा दुवै पक्षबीच छलफल गराएर मात्रै निर्णय लिने भएको छ । यसका लागि अदालतले आगामी सोमबार (मंसिर ७ गते) दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ ।

दोस्रो, सर्वोच्च अदालतले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने तथा एआईजी डा. मनोज शर्मालाई आईजीपीमा बढुवा गर्ने निर्णयको प्रमाणित प्रतिलिपि पेश गर्न सरकारलाई आदेश दिएको छ । साथै, उक्त निर्णयसँग सम्बन्धित अन्य आवश्यक कागजातसमेत बुझाउन भनिएको छ ।

तेस्रो, सर्वोच्चले रिट निवेदनको विषयवस्तु र प्रकृतिलाई ध्यानमा राख्दै यसलाई शीघ्र टुंगो लगाउनुपर्ने आवश्यकता औँल्याएको छ । त्यसैले उक्त मुद्दालाई अग्राधिकार प्रदान गरिएको छ ।

अग्राधिकार प्राप्त मुद्दालाई अदालतले प्राथमिकताका साथ सुनुवाइ गर्ने व्यवस्था छ । यससँगै कार्कीको पुनर्बहालीसम्बन्धी विवादमा सर्वोच्चको आगामी सुनुवाइलाई चासोका साथ हेरिएको छ ।

 

तपाईको प्रतिक्रिया