कामीर मिसाराको कीर्तिमानी शतक, काठमाडौंलाई २०५ रनको विशाल लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत एलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजसामु विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको छ। अब काठमाडौंले जितका लागि २०५ रन बनाउनुपर्नेछ।
चितवनको विशाल योगफलमा कामीर मिसाराले शतकीय इनिङ्स खेले। उनले आक्रामक ब्याटिङ गर्दै ५३ बलमा शतक पूरा गरेका थिए। उनको इनिङ्समा ४ चौका र ८ छक्का समावेश रहे।
मिसाराले कप्तान रवि बोपारासँग महत्वपूर्ण साझेदारी गर्दै चितवनको इनिङ्स सम्हाले। बोपाराले ३८ बलमा ४३ रन बनाए।
चितवनले सुरुवातमै दुई विकेट गुमाएको थियो। देव खनाल १७ रनमा र डेभिड मालन खाता नखोल्दै आउट भए। दुवै विकेट काठमाडौंका कप्तान करण केसीले लिए।
करण केसी काठमाडौंका लागि प्रभावशाली देखिए। उनले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए। तर त्यसपछि मिसारा र बोपाराले चितवनको रन गति तीव्र बनाउँदै टोलीलाई दुई सय रनको आँकडा पार गराए।
एलिमिनेटरको विजेता टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। उक्त खेलको विजेता फाइनलमा पुग्नेछ भने आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।
लिग चरणमा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए। यी दुई टोलीबीच लिग चरणमा भएको पछिल्लो भेटमा काठमाडौंले चितवनलाई १० रनले पराजित गरेको थियो।
अब २०५ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको काठमाडौं गोर्खाजमाथि जितका लागि ठूलो दबाब परेको छ। चितवनका बलरले सुरुवाती ओभरमै विकेट निकाल्न सके खेल आफ्नो पक्षमा पार्ने बलियो सम्भावना रहनेछ।
तपाईको प्रतिक्रिया