मलेसिया पठाइएको १ अर्ब ६९ करोडको रकम प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन् । त्यस्तै, तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसहितले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय भएको थियो । यसरी पठाइएको भनिएको रकम ८ करोड ३७ लाख ४ हजार ३९ अमेरिकी डलर र ३ करोड ७१ लाख ७९ हजार ८८० पाउन्ड स्टर्लिङ रहेको छ ।
नेपाली रुपैयाँमा उक्त रकम १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबर रहेको प्रहरीको दाबी छ ।
सम्झौताको व्यवस्था र कानुनी प्रक्रिया उल्लंघन गर्दै अधिकार क्षेत्रभन्दा बाहिर गएर विदेशी मुद्रा अपचलन गराउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप प्रहरीले लगाएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि संगठित रूपमा ठगी हुँदा पनि रोकथाम तथा कानुनी कारबाहीका लागि पहल नगरेको र गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णयमा सहभागी भएको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
तपाईको प्रतिक्रिया