बिहीबार ३ मङ्सिर २०८३
राजनीति

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता, मोदीसँगको भेटलाई ऐतिहासिक बनाउने तयारी

बुधबार मङ्सिर २, २०८३/ Wednesday 11-18-26

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे पनि राजदूत दलेलासँग जानकारी लिएका थिए।

जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले भ्रमणका एजेण्डा तय भइसकेको जानकारी दिँदै यसलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा तयारी भइरहेको बताए।

भेटमा नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया