बिहीबार ३ मङ्सिर २०८३
बिजनेस

दुरसञ्चार कम्पनीलाई जरिवाना र ब्याज मिनाहाको अवसर, मङ्सिर मसान्तसम्म समय

बुधबार मङ्सिर २, २०८३/ Wednesday 11-18-26

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई विभिन्न शुल्क, दस्तुर तथा करमा लागेको जरिवाना र ब्याज मिनाहाको सुविधा लिन आग्रह गरेको छ।

प्राधिकरणले आर्थिक ऐन, २०८३ को दफा ४९ मा गरिएको व्यवस्थाअनुसार मङ्सिर मसान्तभित्र बक्यौता शुल्क, दस्तुर वा करसँगै त्यसको एक प्रतिशत थप रकम दाखिला गरेमा लाग्ने जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुने जनाएको छ।

प्राधिकरणका अनुसार तोकिएको शुल्क, दस्तुर वा कर दाखिला नगरेका, कम रकम बुझाएका वा आवश्यक विवरण पेस नगरेका दूरसञ्चार सेवा प्रदायकले समेत उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, सम्बन्धित कार्यालयबाट कर, शुल्क वा दस्तुर निर्धारण भई बक्यौता कायम भएका तथा अदालत वा अन्य न्यायिक निकायमा मुद्दा विचाराधीन रहेका सेवा प्रदायकले पनि यो सुविधा लिन सक्नेछन्। यसका लागि सम्बन्धित मुद्दा फिर्ता लिई निर्धारण भएको रकम र त्यसको एक प्रतिशत थप रकम दाखिला गर्नुपर्नेछ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकलाई मङ्सिर मसान्तभित्र आवश्यक रकम बुझाई आर्थिक ऐनले उपलब्ध गराएको जरिवाना तथा ब्याज मिनाहाको सुविधा उपयोग गर्न अनुरोध गरेको छ।

 

तपाईको प्रतिक्रिया