बिहीबार ३ मङ्सिर २०८३
राजनीति

एमालेमाथि फेरि हमला भए कडा प्रतिरोध हुन्छ, सरकारलाई महँगो पर्ने ओलीको चेतावनी

बुधबार मङ्सिर २, २०८३/ Wednesday 11-18-26

काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि सरकारले दमन जारी राखे त्यसको कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

बुधबार पार्टीको राष्ट्रिय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमाथि सरकारले निर्मम व्यवहार गरिरहेको आरोप लगाए। उनले पार्टीका अगुवा कार्यकर्तालाई सम्भावित प्रतिरोधका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन्।

ओलीले सरकारले एमालेमाथि पुनः हमला गर्न सक्ने आशंका व्यक्त गर्दै त्यसको प्रतिवाद गरिने बताए। यस्तो कदम चालिए त्यसको मूल्य सरकारले चुकाउनुपर्ने उनको भनाइ थियो।

आफू पक्राउ पर्दाका बेला सयौँ कार्यकर्तामाथि निर्मम कुटपिट गरिएको उल्लेख गर्दै ओलीले अब हुने प्रतिरोधमा ठूलो संख्यामा कार्यकर्ता सडकमा उत्रिनुपर्ने बताए।

‘पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला। अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनुपर्छ, सबै तयार हुनू,’ उनले कार्यकर्तालाई निर्देशन दिँदै भने।

सरकारले जुनसुकै बेला अप्रत्याशित कदम चाल्न सक्ने भन्दै ओलीले पार्टी पंक्तिलाई सचेत र तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया