काठमाडौँ । सङ्घीय संसदअन्तर्गतका नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ। विभिन्न समितिले विधेयक, सरकारी कामकारबाही तथा समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन्।
अर्थ समितिको बिहान ११ बजे बस्ने बैठकमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयक माथि दफावार छलफल हुनेछ। बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयक, २०८१ का विषयमा होटल एसोसिएसन नेपाललगायत सरोकारवालासँग छलफल गर्नेछ।
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले प्राप्त उजुरीमाथि छलफल गर्नेछ भने कृषि तथा प्राकृतिक स्रोत समितिले जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र वितरण तथा रासायनिक मलको प्रयोग घटाउने विषयमा उत्पादकसँग छलफल गर्नेछ।
पूर्वाधार विकास समितिमा बागमती ब्युटिफिकेसन आयोजना, राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीबारे छलफल हुनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गर्नेछ। सार्वजनिक लेखा समितिले वैदेशिक सहायता लेखापरीक्षण र विधायन व्यवस्थापन समितिले विधायिकी अन्तरसम्बन्धबारे गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ।
तपाईको प्रतिक्रिया