बिहीबार ४ भदौ २०८३
बिश्वो

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

बिहीबार भदौ ४, २०८३/ Thursday 08-20-26

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको विवाद समाधानका लागि भइरहेको वार्तामा गतिरोध देखिएपछि थप कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

ट्रम्पले बुधबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाउँदै अब उसले कठोर आर्थिक दबाब र अन्तर्राष्ट्रिय एक्लोपन सामना गर्नुपर्ने बताएका हुन्।

उनले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने अन्य देशमाथि समेत प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। इरानलाई वित्तीय, व्यावसायिक वा सरकारी माध्यमबाट सहयोग गर्ने देशले ठूलो आर्थिक परिणाम भोग्नुपर्ने उनको भनाइ छ।

ट्रम्पले इरानको तेल तस्करी, नगद कारोबार, विनिमय सेवा, जहाज दर्ता तथा अन्य माध्यमबाट हुने आर्थिक सहयोग तत्काल रोक्नुपर्ने बताएका छन्। इरानबाट उत्पन्न खतरा अन्त्य गर्न अमेरिकाका सहयोगी राष्ट्रहरू एकजुट हुनुपर्ने उनको भनाइ छ।

अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाइसकेको छ। ट्रम्पले यसअघि पनि इरानमाथि थप कडा आर्थिक कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।

 

तपाईको प्रतिक्रिया