काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ।
महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न अदालतमा निवेदन दिने निर्णय गरेको हो।
संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गर्ने तयारी छ। उनका अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा पुनः सुनुवाइको चरणमा प्रवेश गर्न लागेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने समूहको निष्कर्ष छ।
‘जतिसक्दो चाँडो महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय भएको छ,’ विश्वकर्माले भने, ‘शुक्रबारसम्म निवेदन दर्ता हुन्छ।’
संस्थापन इतर समूहले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनः सुनुवाइ हुने अवस्थामा महाधिवेशनका प्रक्रिया अघि बढाउँदा त्यसको वैधानिकतामै प्रश्न उठ्न सक्ने दाबी गरेको छ।
यता, कांग्रेसले भने महाधिवेशनको तयारीलाई निरन्तरता दिइरहेको छ। केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार वडा अधिवेशन आगामी २४ भदौमा गर्ने कार्यतालिका तय गरिएको छ।
कांग्रेसले यसअघि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। सोही निर्णयलाई यथावत राख्दै पार्टीले तल्लो तहका अधिवेशनको कार्यतालिकामा भने हेरफेर गरेको छ।
यससँगै कांग्रेसभित्र महाधिवेशनको तयारीसँगै पार्टीको आधिकारिकता विवादलाई लिएर संस्थापन र संस्थापन इतर समूहबीचको विवाद थप पेचिलो बनेको छ।
तपाईको प्रतिक्रिया